दुर्गा प्रसाईंसँग प्रधानमन्त्री कार्कीले गरिन् छलफल, के भयो सहमति ?
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
982
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट तथा छलफल गरेकी छिन् । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा गएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए ।
अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आफूहरु पनि बेथिति र भ्रष्टाचार नियन्त्रण गर्नकै लागि आएको बताउँदै सरकार त्यसका लागि प्रयासरत रहेको बताइन् । प्रसाईँले उठाएका कतिपय माग जेन–जी आन्दोलनका क्रममा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो दायित्व रहेको उनको भनाइ थियो ।
तर ऋण मिनाहा गर्ने विषय भने राज्यले कसरी थेग्न सक्छ भनेर विचार गर्नुपर्ने उनको धारणा थियो ।
प्रसाईँले अघि सारेका मागका विषयमा आगामी दिनमा छलफल गर्दै जाने समझदारी भएको जनाइएको छ । अभियानका नेता प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरुप भगवती दुर्गाको मूर्ति प्रदान गरे ।
प्रसाईँले आफ्ना मागबारे प्रस्ट्याउँदै आफ्ना कुरा सुन्न तयार भएकामा सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार शान्तिपूर्ण वार्ताका माध्यमबाट सडकको आवाज सुन्ने वातावरण बनाइदिएको भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पनि प्रशंसा गरे ।
यता प्रधानमन्त्री कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँगको संवादमा प्रसाईंले सर्वदलीय तरिकाले जनमत सङ्ग्रहमा जानुपर्ने माग राखेको बताए । उनले प्रधानमन्त्री कार्कीले आगामी पुस २ गतेसम्म त्यसबारे निर्णय गर्ने आश्वासन प्राप्त गरेकोसमेत बताए ।