arrow

अण्डा हालसम्मकै महँगो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
eggs-hamrakura.jpg

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् ।

पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ । 

त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० पिसको) पाँच सय ८०, ठूलो अण्डा पाँच सय ६५ र मिडियम  पाँच सय ५० रुपैयाँ कायम गरिएको छ ।

यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट पाँच सय ६० रुपैयाँ पुगेको थियो । क्रमशः मूल्य घटेर चार सय रुपैयाँमा झरेको थियो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट २० रुपैयाँले बढेको हो ।

उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो ।

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको  खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए । 

उनले भने, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” 

सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उनको भनाइ छ । 

सङ्घका सल्लाहकार त्रिलोचन क‌ंडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । 

भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उनले बताए । 

अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६ दशमलव ५७ रुपैयाँ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उनले बताए । 

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहेका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउँछन् । 

उनको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ