प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीचको वार्ता सिंहदरबारमा
२७ बुँदे मागमा विस्तृत छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
810
Shares
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच आज दिउँसो ३ बजेदेखि औपचारिक भेटवार्ता शुरु भएको छ। राजनीतिक तनावका बीच भएको यो वार्ताले नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
नागरिक बचाउ दलका संरक्षक एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरू बारे प्रधानमन्त्री कार्कीसँग विस्तृत छलफल गरिरहेका छन्।
प्रसाईंले आफ्नो समूहले गत मङ्सिर ६ गते गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि व्यक्त गरेका छन्। छलफलमा वर्तमान शान्ति–सुरक्षा अवस्था, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूमा विशेष जोड दिइएको छ।
प्रसाईं समूहले मागपत्रमा निम्न प्रमुख बुँदाहरू समावेश गरेको छ: संविधानको खारेजी र नयाँ संविधान निर्माण, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गरी राजसंस्था र हिन्दु राष्ट्र (वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य) पुनस्र्थापना गर्ने, विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने, सार्वजनिक शान्तिमा खलल पुर्याउने तत्वहरूको नियन्त्रण गर्ने, तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने।
सरकारले यी मागहरू राजनीतिक दलहरूले निर्वाचनमार्फत मात्र सम्बोधन गर्नसक्ने सुझाव दिएको भए पनि, प्रसाईं समूहले मागहरू तत्काल कार्यान्वयन नभए चरणवद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिइसकेको छ। यो वार्ता प्रधानमन्त्री र आन्दोलनकारी पक्षबीच देखिएको गतिरोध अन्त्य गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ।