ओलीले 'पञ्चायती शैली'मा महाधिवेशन गर्न खोजिरहेका छन्: उपाध्यक्ष पाण्डे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
834
Shares
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनलाई पञ्चायती व्यवस्थाको ‘गाउँ फर्क’ शैली मा गर्न लागेको आरोप लगाएका छन्।
एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले २०३२ सालमा पञ्चायती व्यवस्थामा ‘गाउँ फर्क’ लागू भएपछि गाउँ फर्कले टिकट दिएको व्यक्ति मात्रै पञ्च भएर निर्वाचन लड्न पाउँथे। उनले सोही व्यवस्थालाई ओलीले अहिले पार्टीमा लागू गर्न खोजिरहेको आरोप लगाए।
पाण्डेले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर सङ्कट आएको बताएका छन्। वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सिमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको उनको दाबी छ।
उनले ७० वर्षे उमेर हद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था ओलीकै नेतृत्वमा गरिएको स्मरण गराएका छन्। आठौँ र नौऔँ महाधिवेशनमा लोकतान्त्रिक विधि अनुसार निर्वाचन भएकोमा १०औँ महाधिवेशनमा भने पहिला सूचि पास गर्ने र सूचिमा रहेका मात्र उम्मेदवार बन्न पाउने प्रावधान ल्याइएको र ११औँ महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्याउन खोजेको उनले आरोप लगाए। नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए।
आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिदै र एक्लिँदै (आइसोलेसनमा जाने अवस्था) गएको उनले उल्लेख गरे। नेतृत्व चयनमा प्रतिस्पर्धा नहुने र माथिबाट तोकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनले ‘चुनाव नहुने, प्रतिस्पर्धा नहुने, तोकुवा माथिबाट लिस्ट बेचिने पार्टीमा किन आउने?’ भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए।
उनले कानूनमा नै राजनीतिक दलमा एक पटकभन्दा बढी नेतृत्व गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।