वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
779
Shares
काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) बिक्री सुरु गरेको छ। कम्पनीले कुल एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गर्न लागेको हो।
विदेशमा रहेका नेपालीहरूले यस साधारण शेयरमा न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त परिमाणको शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसम्म र बढीमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
साधारण शेयरमा लगानी गर्न चाहने इच्छुक व्यक्तिहरूले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा मेरो शेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
कम्पनीले जारी पूँजी रु एक अर्ब ९० करोडको १०.१४ प्रतिशत (अर्थात् रु १९ करोड २६ लाख ६० हजार) बराबरको १९ लाख २६ हजार ६०० कित्ता मध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ। सो मध्येको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण शेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो।