अमेरिकी दबाबबीच भेनेजुएलाले गर्यो सैन्य शक्ति विस्तार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
2k
Shares
काठमाडौँ। संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रूपमा शपथ ग्रहण गराउँदै सैन्य शक्ति विस्तार गर्ने निर्णय सार्वजनिक गरेको छ।
अमेरिकाले लागुऔषध तस्करीविरुद्ध कारबाही गर्ने नाममा क्यारिबियन क्षेत्रमा युद्धपोतको बेडा र विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज तैनाथ गरेपछि मदुरोले व्यापक सैन्य भर्तीको आह्वान गरेका थिए। भेनेजुएलाले अमेरिकी सेनाले हालसालै २० भन्दा बढी जहाजमा घातक आक्रमण गरेको र जसमा कम्तीमा ८७ जनाको मृत्यु भएको दाबी गरेको छ।
वासिङ्टनले राष्ट्रपति मदुरोमाथि ‘कार्टेल अफ द सन’ नामक समूहको नेतृत्व गरेको आरोप लगाउँदै गत महिना यस समूहलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको थियो। मदुरोले भने अमेरिकी सैन्य उपस्थितिको उद्देश्य आफूलाई सत्ताच्युत गर्नु र भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्नु रहेको आरोप दोहोर्याएका छन्।
काराकासस्थित सर्वाधिक ठूलो सैन्य परिसर फुएर्टे टियुनामा आयोजित समारोहमा कर्नेल ग्याब्रियल रेन्डोनले नयाँ भर्ती सैनिकहरूलाई सम्बोधन गर्दै ‘हामी कुनै पनि परिस्थितिमा साम्राज्यवादी शक्तिद्वारा आक्रमण हुन दिनेछैनौँ’ भन्दै भेनेजुएलाको सैन्य अडान स्पष्ट पारेका छन्। आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा हाल करिब दुई लाख सैनिक र थप दुई लाख प्रहरी तैनाथ रहेका छन्।
यसैबीच, आतङ्कवाद र दङ्गा उक्साएको आरोपमा पक्राउ परेका एक पूर्व विपक्षी गभर्नर अल्फ्रेडो डियाजको शनिबार जेलमै मृत्यु भएको मानवअधिकार समूहहरूले पुष्टि गरेका छन्। डियाज सन् २०२४ नोभेम्बरपछि जेलमा मृत्यु हुने कम्तीमा छैटौँ विपक्षी व्यक्ति भएको फोरो पेनाल नामक एनजिओले जनाएको छ।
विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले राजनीतिक बन्दीहरूको मृत्युको कडा निन्दा गर्दै यसलाई ‘चुनावपछिको दमन’ को क्रममा भएको बताएकी छन्। उनले उपचार अस्वीकार, अमानवीय वातावरण, अलगाव, यातना तथा अपमानजनक व्यवहार समावेश यी मृत्युका अवस्थाले राज्य दमनको निरन्तर ढाँचालाई उजागर गरेको उल्लेख गरेकी छन्। फोरो पेनालका अनुसार भेनेजुएलामा हाल कम्तीमा ८८७ राजनीतिक बन्दी रहेका छन्।