लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य, मिति सार्नु अनिश्चयको दिशा – रामेश्वर खनाल
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
892
Shares
काठमाडौँ। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्नका निमित्त समयमै निर्वाचन अपरिहार्य रहेको बताएका छन्। निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको र यसले युवालाई थप निराश बनाउने उनको भनाइ छ।
आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औँ वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै खनालले वर्तमान सरकारलाई पूरा गर्नुपर्ने तीन वटा महत्त्वपूर्ण दायित्वमध्ये संविधानबमोजिम समयमा निर्वाचन गराउनु एक भएको जिकिर गरे।
अर्थमन्त्री खनालले मुलुक अहिले परिवर्तनको संघारमा भए पनि पूर्ण रूपमा परिवर्तन भइनसकेको स्पष्ट पारे। उनका अनुसार जेन–जी आन्दोलन आर्थिक समृद्धिको लागि नभई भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने दुई मुख्य मुद्दामा केन्द्रित थियो।
उनले भने, "तत्कालिन सरकारले जिम्मेवारी त्याग गरेपछि नयाँ सरकार गठन भएकोले, लोकतन्त्रलाई संस्थागत गर्ने निर्वाचन नै तेस्रो कार्यसूची हो।" खनालले निर्वाचन समयमा सम्पन्न गर्ने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिँदै निर्वाचनको मिति सार्ने कुनै पनि प्रयासले मुलुकलाई अनिश्चयतिर लैजाने र त्यसले युवालाई निराश बनाउने चेतावनी दिए। उनले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नैपर्ने बताएका छन्।