arrow

क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
rashuwa-hidro.jpg

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाट जडित क्षमताको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ। गत असार २४ गते चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायत हेडवक्र्स संरचनामा ठूलो क्षति पुर्‍याएपछि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो।

क्षतिग्रस्त हेडवक्र्सको मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको छ। एउटा युनिटबाट हाल ३७ मेगावाट विद्युत उत्पादन भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको बताए। उनले आयोजनाबाट विद्युत उत्पादन सुरुभएपछि हिउँदयामको विद्युत माग व्यवस्थापन गर्न केही सहज हुने उल्लेख गरे।

बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झारलगायतका वस्तु रोक्ने मेसिन, गेट लगायतका उपकरण बगाएको थियो। हेडवक्र्स नियन्त्रण भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो र ठूला ढुङ्गाका कारण संरचना भत्किएका थिए। साथै, टर्वाइन रहेको तला समेत पूर्ण रूपमा डुबेको थियो। उक्त दिन आयोजनामा कार्यरत २२ जना कर्मचारीहरूलाई सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको थियो।

आयोजनाबाट १६ पुस २०८१ बाट व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु भएको थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ, जसबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ