उत्तरदक्षिण जोड्ने सडकमा १३ पक्की पुल सम्पन्न, तीन अन्तिम चरणमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
714
Shares
मुस्ताङ। उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेका छन् भने थप तीनवटा पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ। यो भारत र चीन जोड्ने व्यापारिक मार्गको निर्माण २०७३/७४ सालदेखि सुरु भएको थियो।
आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार गत वर्षसम्म १३ पुल सम्पन्न भई कार्यालयलाई हस्तान्तरण भइसकेका छन्। म्याग्दी खण्डमा राहुघाट पुल र घट्टेखोलाको पुल सम्पन्न भएका छन् भने मुस्ताङ खण्डमा लेतेखोला, सेतोखोला, छाक्ताङ खोला, मार्फाखोला पुल, छुसाङ नरसिंह खोला, चराङखोला पुल र माथिल्लो मुस्ताङका लोमान्थाङ खोला, किम्लिङ खोला लगायतका संरचना सम्पन्न भएका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ६ वटा पुल सम्पन्न भई हस्तान्तरण भएका थिए।
चापागाईँका अनुसार थासाङ–४ स्थित कैकुखोला, थासाङ–२ स्थित लार्जुङखोला, र लोघेकर दामोदरकुण्ड–२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा छन्। यी तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आर्थिक वर्षभित्र हस्तान्तरण हुने अपेक्षा गरिएको छ। निर्माणाधीन पुलहरूको फाउन्डेसन र स्ल्याप ढलान भइसकेको छ भने एप्रोज सडकसहित पुल फिनिसिङको कार्य बाँकी छ।
यद्यपि, निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्का कारण म्याग्दीको रुप्सेखोला, थासाङको खहरेखोला, र कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता भने तोडिएको छ।
आयोजनाले कोरला सडकमा ६ वटा बेलिब्रिज सहित हालसम्म १९ वटा पुल निर्माण गरिसकेको जनाएको छ। कोरला सडक आयोजनाले कार्यान्वयन गरेका बाहेक पुल सेक्टर कार्यालय पोखराबाट कार्यान्वयन भएका पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म आठवटा पक्की पुल निर्माण भइसकेका छन्। मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा सम्पन्न भएको थियो।