रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।
उनीहरुले शनिबार पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए ।
राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ ।
झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सञ्चालन गरेको हो ।
हिजो साँझ चन्द्रपुर नगरपालिका वडा नं ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका वडा नं २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
दुर्घटनामा १२ वर्षीय युवराज पटेल, ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल घाइते भएको र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गौरबाट चपुरतर्फ आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको र दुवै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन् ।
अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर सडक खण्डमा कुनै अवरोध नरहेको र निर्वाध रुपमा सवारी आवागमन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहट ले जनाएको छ ।