काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताएका हुन् ।
उनले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय समिति पुगेको दाबीसमेत गरे ।
ओलीका नीति, विचार र उनले हासिल गरेको उपलब्धिले पनि उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर छ ।
उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएकोसमेत बताए ।
यो भनेर बादलले आफू जे पद छ त्यही पदमा आफू ठीक रहेकोसमेत संकेत गरेका छन् । बादलले पदाधिकारी संख्या र केन्द्रिय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेकोसमेत बताए ।