ट्रम्पले दिए घूस आरोप लागेका डेमोक्र्याटिक सांसदलाई 'बिना शर्त पूर्ण आममाफी'
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
2k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीका एक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा पूर्ण आममाफी दिएर अमेरिकी राजनीतिमा एक नाटकीय घटनाक्रम ल्याएका छन्।
राष्ट्रपति ट्रम्पले बुधबार आफ्नो लगानीको 'ट्रुथ सोसल' प्लेटफर्ममा लेख्दै टेक्सासका सांसद हेनरी कुएलरलाई बिना शर्त पूर्ण आममाफीको घोषणा गरेका हुन्। ट्रम्पले आफ्ना सन्देशमा लेखेका छन्, "म यो घोषणाद्वारा टेक्सासका मेरो प्रिय सांसद हेनरी कुएलरलाई बिना शर्त पूर्ण आममाफीको घोषणा गर्दैछु । म तपाइलाई चिन्दिनँ, तर तपाइ आज राति राम्रोसँग सुत्न सक्नुहुनेछ । तपाईँको भयानक सपना अन्तमा समाप्त भएको छ।”
सांसद कुएलर र उनकी श्रीमतीले अजरबैजान सरकारको आंशिक स्वामित्वमा रहेको तेल र ग्यास कम्पनीबाट सयौं हजार डलर घूस लिएको अभियोजनकर्ताहरूको आरोपको आधारमा षड्यन्त्र र घूसखोरीको धेरै आरोपहरूको सामना गरिरहेका थिए। यद्यपि, कुएलर दम्पतीले ती आरोपहरूको खण्डन गर्दै अप्रिलदेखि कानुनी लडाई लड्दै आएका थिए।
सांसद कुएलरले बुधवार एक्समा एक पोस्ट गर्दै माफीको जवाफमा राष्ट्रपति ट्रम्पलाई "उनको जबरदस्त नेतृत्व र तथ्यहरू हेर्नको लागि समय निकाल्नुभएकोमा आभार व्यक्त" गरेका छन्।
ट्रम्पले यस कार्यलाई पूर्व राष्ट्रपति बाइडेनको प्रशासनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध न्याय प्रणालीलाई प्रयोग गरेको बताएका छन्, यद्यपि उनले यसको प्रमाणका लागि कुनै तथ्य भने पेश गरेका छन्ैन। आफ्ना विगतका कानुनी समस्याहरूलाई राजनीतिक वदलाको भावले प्रकट गरिएको भन्दै ट्रम्पले यस वर्ष दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेदेखि धेरै उच्च ओहोदाका व्यक्तिहरूको मुद्दामा सजाय मिनाहको घोषणा गरेका छन्।
यसअघि गत फेब्रुअरीमा ट्रम्पले इलिनोइका गभर्नर रड ब्लागोजेभिचलाई राजनीतिक भ्रष्टाचारको मुद्दामा माफी दिएका थिए। यस्तै, होन्डुरसका पूर्व राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई पनि सोमबार पश्चिम भर्जिनियाको जेलबाट रिहा गरिएको थियो।