काठमाडौँ। किरात समुदायले आज (बिहीबार) देशभर उँधौली पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ।
किरात समुदायले अन्नबाली भित्र्याएपछि पूर्खाहरूलाई चढाउने र खुशियाली मनाउन उँधौली पर्व मनाउने गरेका हुन्। किरात राई केन्द्रीय कार्यसमितिका सल्लाहकार मणिककुमार राईले वैशाखको उँभौली पर्वमा अन्नबाली लगाएर आशीर्वाद माग्ने र उँधौली पर्वमा अन्नबाली भित्र्याएर पूर्खाहरूलाई चढाउने गरिएको जानकारी दिएका छन्।
उनका अनुसार, उँधौलीमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गरिन्छ। कतिपयले पितृलाई चढाएपछि मात्रै नयाँ अन्नबाली खाने चलन पनि छ। किरात कुल घरमा राईको चुल्हा, लिम्बूहरूको सात तल्ले, सुनुवारहरूको चुल्हा र त्रिशूल, याख्खाचुम्बाहरूको यावू राखिएको हुने र त्यसलाई पूजा गरी उँधौली/उँभौली मनाइन्छ।
किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उँधौली पर्व परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन्। उपत्यकाको ललितपुरमा पनि बिहीबार हर्षोल्लासका साथ उँधौली पर्व मनाइएको छ।