धान्य पूर्णिमा मनाइँदै, लोप हुँदै यमरी माग्ने मल्लकालीन प्रचलन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
826
Shares
भक्तपुर। आज मार्ग शुक्ल पूर्णिमाको दिन, नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ (धान्य पूर्णिमा) मनाइरहेका छन्। बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात् चामलको पिठोबाट बनेको परिकार पाकेको छ।
यमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वको रूपमा यमरी पून्ही मनाउने गर्छन्। आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा पनि लिने गरिन्छ। धान्य पूर्णिमाको अवसरमा दान गरे फलिफाप हुने विश्वास छ।
यमरी पूर्णिमाको दिन साँझ घरघरमा युवायुुवतीले “त्यःछिं त्यः, बकछिं त्यः, लातापाता कुलिचां जुसें त्यः...” लगायतका गीत गाउँदै यमरी तथा धान, चामल, दामलगायत माग्ने गर्छन्। तिहारमा देउसी/भैलो खेले जस्तै गरी आज त्यःछिं त्यः बकछिं त्यः खेलेर यमरी माग्दै रमाइलो गर्ने मल्लकालीन प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मीहरूले बताएका छन्। संस्कृतिकर्मी सुमन श्रेष्ठका अनुसार नेपाल भाषाको यो गीतमा पैसा, धान, चामल वा यमरी हुनेले दान दिनु र केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भाव हुन्छ।
यमरीलाई कुवेर र गणेशका प्रतिकका रूपमा लिइन्छ। धान्य पूर्णिमासमेत भएकाले आजको दिन बिहानैदेखि विभिन्न शिवालयहरूमा यमरी चढाएर पुजा गर्नेहरूको भीड लागेको छ। यमरी पुन्हीका दिन गृहणीहरू शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुँदपाक, खुवा राखी त्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गर्छन्। पूर्णिमाका दिन योमरीलाई धानका भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ। यमरी खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्तिको विकास हुन्छ भन्ने मान्यता छ।
किंवदन्ती अनुसार, पाञ्चाल देश (हालको पनौती) मा बस्ने दानी र धर्मात्मा महर्जन दम्पतीले ब्राहम्णको भेषमा भिक्षा माग्न आएका धनपति कुवेरलाई यमरी खुवाएपछि प्रसन्न भएका कुवेरले धानको भकारीमा गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यमरी चढाउने विधि बताएर गए। सोहीअनुरूप यमरी चढाएर खाएपछि उनीहरूको धनसम्पति वृद्धि भएको र शरीर हृष्टपुष्ट हुन थालेको विश्वास गरिन्छ।