काठमाडौँ। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान अन्तरिम सरकारसँग आग्रह गरेका छन्।
आफूले विभिन्न बुँदामा मागहरू राखेको उल्लेख गर्दै उनले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन्।
उनले लडाईं नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताएका छन्। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरूका मागप्रति सकारात्मक रहेको दाबी गरेका छन्।
प्रसाईंका अनुसार, उनीहरूका माग नेपाल टुक्राउने खालका छैनन् र माग पूरा हुनेमा उनी ६० प्रतिशत विश्वस्त छन्। यदी सरकारले माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी उनले दिएका छन्।
उनले अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जुन जेन–जीलाई टेकेर सरकारमा गएको थियो, आखिर त्यही जेन–जीहरूलाई थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको बताएका छन्। उनको भनाइमा, २३ र २४ गतेको आन्दोलन गर्ने जेन–जी विद्रोहीलाई थुन्नु हुँदैन। उनले राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरेका छन्।