बाजुरामा सात नयाँ मतदानस्थल थपिए, कुल संख्या ७७ पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
849
Shares
बाजुरा । आगामी निर्वाचनलाई लक्षित गर्दै बाजुरामा ७ वटा नयाँ मतदानस्थल थप गरिएका छन्। जिल्ला निर्वाचन कार्यालय बाजुराले मंसिर १४ गते गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले यी नयाँ मतदानस्थल थप गरेको हो।
नयाँ मतदानस्थलहरू स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकाहरूमा राखिएका छन्। स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नं.–३ जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा नयाँ मतदानस्थल राखिएको छ। बुढीनन्दा नगरपालिका–३ मा मदन आश्रित आवि बड्डाला, हिमाली गाउँपालिका–१ मा शुनन्दा आवि बाम, वडा नं.–५ मा कुलामष्टाजन आवि क्युरी र वडा नं.–६ मा खोलीकोट आवि पाडीमा पनि नयाँ मतदानस्थल थपिएका छन्।
योसँगै जिल्लामा मतदानस्थलको संख्या ७७ पुगेको छ भने मतदान केन्द्र ११२ रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतका अनुसार, ६ वटा मतदानस्थल स्थानान्तरण गरिएको छ। बुढीनन्दा–३ को सिराडी मतदानस्थल कालीका मावि भुलेनामा तथा त्रिवेणी–८ को नवदुर्गा आवि झालगाउँ ढडाली स्वास्थ्य केन्द्रमा सारिएको छ। बुढीगंगा नगरपालिका–२, ३, ५ र ९ का मतदानस्थल सम्बन्धित वडाको कार्यालयमा सारिएका छन्।
बाजुरामा हाल ८६ हजार ५५७ मतदाता रहेका छन्, जसमध्ये महिला ४१ हजार ९२०, पुरुष ४४ हजार ५३५ र अन्य २ जना छन्। असोज १० देखि मङ्सिर ५ गतेसम्म जिल्लामा १ हजार ५१६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ। निर्वाचन आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलनको म्याद मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो।