समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
666
Shares
काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखेर अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले जारी गरेको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनःस्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी छन्।
सन्देशमा प्रधानमन्त्रीले अपाङ्गताको गाम्भीर्यका आधारमा उनीहरूलाई सेवा सुविधामा प्राथमिकता दिई सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको स्पष्ट गरेकी छन्। उनले अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको उल्लेख गरेकी छन्।
प्रधानमन्त्री कार्कीले अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेकी छन्। उनले नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि र विद्यमान कानुनहरूले उनीहरूको अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका बताएकी छन्। उनले आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्था र सरोकारवालाहरूलाई हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गरेकी छन्।