नबिल बैङ्कको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
662
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैङ्कको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैङ्कले जनाएको छ ।
“बैङ्कको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगन्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ”, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले बताए ।
बैङ्कका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगन्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगन्ज, विराटनगर र पोखरास्थित बैङ्कका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ ।
बैङ्कको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैङ्किङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढङ्गले अन्तर्राष्ट्रिय रूपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवेदन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बिमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैङ्कको भनाइ छ । बैङ्कका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।
नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ ।