पच्चीस अर्बपति र तीन पूर्व राष्ट्रप्रमुख नेपाल आउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
1.7k
Shares
काठमाडौं। 'समृद्ध भविष्यका लागि शान्ति' भन्ने मूल नारासहित तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको छ। आयोजक संस्था 'द प्रामिज्ड ल्याण्ड फाउण्डेसन' ले मङ्गलबार पत्रकार सम्मेलन गरी नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौं विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको छ।
आयोजक संस्थाका प्रमुख निकेश अधिकारीका अनुसार यस कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विद्वान, कलाकार, युवाहरू र समुदाय प्रतिनिधिसहित १० हजार भन्दा बढी सहभागी उपस्थित हुनेछन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा 'फच्र्युन जेनेरेसन' का २५ जना विश्वप्रसिद्ध अर्बपति पहिलोपटक नेपाल आउनेछन्।
कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनी र संसारकै एक मात्र अवशिष्ट रामग्राम स्तुपामा केन्द्रित हुनेछ। नेपालको सांस्कृतिक तथा आध्यात्मिक सम्पदालाई शान्ति र साझा समृद्धिको विश्वव्यापी बहसको केन्द्रमा ल्याउने तथा विश्वलाई शान्तिको सन्देश संसारभर लाने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका प्रमुख अधिकारीले जानकारी दिए। यस कार्यक्रममा विभिन्न मुलुकका तीनजना पूर्व राष्ट्रप्रमुख पनि सहभागी हुने तिमीले बताएका छन्।
कार्यक्रममा शान्ति, जलवायु, विकास, सामाजिक न्याय तथा व्यक्तिगत कल्याण सम्बन्धी उच्च–स्तरीय संवाद, सांस्कृतिक प्रस्तुति, संगीत र कलाका कार्यक्रम हुनेछन्। यस्तै, डिसेम्बर १२ मा रामग्राम स्तुपामा आयोजना हुने दीप प्रज्वलन समारोहमा हजारौँ दीप प्रज्वलित गर्दै विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरिनेछ। विश्व शान्ति कार्यक्रम २०२३ मा संयुक्त राष्ट्रमहासचिव एन्टनियो गुटेरेसले लुम्बिनी यात्रा गरी शान्तिको सन्देश दिएपछि शुरु भएको थियो। तेस्रो संस्करणमा २५ जना विश्व अर्बपति उपस्थिति हुने कारण नेपालमा ठूलो लगानी, बहुक्षेत्रीय साझेदारी र परिवर्तनकारी परियोजनाका अवसर खुल्ने अपेक्षा समेत व्यक्त गरिएको छ।