अमेरिकामा सवारीसाधन खरीद योजना परिमार्जित: विद्युतीय सवारीको बजारमा ठूलो गिरावट
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
2.4k
Shares
काठमाडौँ । उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण अमेरिकी नागरिकहरूले सवारीसाधन किन्ने योजना परिमार्जन गर्न थालेका छन्। एक अमेरिकी पत्रिकाका अनुसार, ग्राहकहरू अहिले साना र प्रयोग भएका सवारीमा बढी रुचि देखाइरहेका छन्।
यसै क्रममा, अमेरिकामा विद्युतीय सवारीसाधनको बजारमा ठूलो गिरावट आएको छ। गत मार्चमा विद्युतीय सवारी खरिदमा प्रदान हुने कर छुट समाप्त भएपछि हजारौँ सम्भावित खरिदकर्ताहरूले खरीद रद्द गरेका थिए, जसले उद्योगमा थप दबाब सिर्जना गरेको छ।
अमेरिकी प्रशासनले यस वर्ष फेब्रुअरीमा आयातित सवारीसाधनमा २५ प्रतिशत र मार्चमा सवारी पाट्र्समा थप २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यसका कारण आयातित मात्र नभई स्वदेशमै बनेका सवारीसाधन पनि महँगा भएका छन्।
फेडेरल रिजर्भको पछिल्लो बेइज पुस्तक अनुसार, जुलाईको सुरुदेखि अगस्तको मध्यसम्म अमेरिकी उपभोक्ता खर्च निरन्तर घटेको देखिन्छ। साथै, मिशिगन विश्वविद्यालयले सार्वजनिक गरेको सूचकाङ्कले धेरै अमेरिकी नागरिकहरू रोजगारका अवसरप्रति निराश रहेको र बढ्दो महँगीका कारण खर्च कटौती गर्न बाध्य भएको निष्कर्ष निकालेको छ।