भदौ २३ मा जेन-जी शहीद दिवसको रुपमा मनाइने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
864
Shares
काठमाडौँ । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेन-जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णयसमेत भएको छ ।
उनले आगामी माघ १ गतेदेखि एकै पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्नेगरी गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको पनि बताए।
उनले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको पनि जानकारी दिए ।
उनकाअनुसार बैठकले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यस्तै सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
उनले भने, ‘२०८२ माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरिएको छ । त्यस्तै श्रीलंकामा हालै भिषण वर्षाका कारण आएको बाढी तथा पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ । विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको छ । प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवारलाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय पनि भएको छ ।’
उनले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको पनि बताए ।
सरकारले वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।