काँकरभिट्टा नाकाबाट चार महिनामा १६ अर्बको आयात, आठ अर्बको निर्यात
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
679
Shares
काठमाडौँ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्मको चार महिनाको अवधिमा रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको छ भने रु ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ, तर निर्यात भने ४.१२ प्रतिशतले घटेको छ।
कार्यालयले चार महिनाको अवधिमा आयात र निर्यातबाट कुल रु ५ अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ, जुन राजस्व असुलीमा १५.६६ प्रतिशत (अर्थात रु ७३ करोड ९४ लाख ७५ हजार) को वृद्धि हो। यसमध्ये आयातबाट रु ५ अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट रु १२ करोड ३४ लाख ६० हजार राजस्व सङ्कलन भएको छ।
निर्यात हुने मुख्य वस्तुहरूमध्ये अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ, जहाँ रु ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजारको निर्यात भएको छ, जुन गत वर्षको तुलनामा १०९.२ प्रतिशत बढी हो। यस्तै, मुसुरो दाल निर्यातमा ४८१ प्रतिशतको व्यापक वृद्धि भएको छ, रु ९ करोड १२ लाख ८७ हजार बराबरको निर्यात भएको छ।
भेनियर सिट (१३५.८ प्रतिशत), कुकुर र बिरालोको खाना (३३ प्रतिशत), अदुवा/सुठो (३.२ प्रतिशत) र काउली, बन्दाकोभी तथा ब्रोकाउली (३६.१ प्रतिशत) को निर्यातमा पनि वृद्धि भएको छ।
यद्यपि, चिया निर्यातमा झण्डै एक तिहाइ अर्थात् ३७ प्रतिशत गिरावट आएको छ, जहाँ रु १ अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको मात्र निर्यात भएको छ। प्लाइउड निर्यातमा ५२.७ प्रतिशत र अम्रिसो निर्यातमा २३.९ प्रतिशतले कमी आएको छ। सबैभन्दा बढी गिरावट फलामे पाताको निर्यातमा ९७.३ प्रतिशतले आएको छ, जसको निर्यात रु ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र भएको छ।