काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा आज देशभर पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी गीता जयन्ती पर्व मनाइँदैछ।
वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो। पाँच हजार १३३ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन (मोक्षदा एकादशी) कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत् कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ नै गीता हो। कौरवका ११ अक्षयोनी सेना र पाण्डवका सात अक्षयोनी सेना थिए। भगवान् कृष्ण पाण्डवका पक्षमा अर्जुनको सारथीका रूपमा हुनुहुन्थ्यो। कौरवका पक्षमा हजुरबा भीष्मपितामहलाई नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरेपछि उनलाई विश्वस्त बनाउन उपदेशका रूपमा गीता सुनाइएको थियो।
जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले चार वेदका धेरै शाखाहरू लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको बताए। प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाउँदै आएको छ। यसैगरी गीता मन्दिर स्वयम्भू, विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाहरूले पनि आज राजधानीलगायत विभिन्न स्थानमा गीता पाठलगायत कार्यक्रम आयोजना गर्न लागेका छन्। गीतामा भक्ति योग, ज्ञान योग र वैराग्य योगका विषयमा चर्चा गरिएको छ।