ट्रम्पको 'भूमि कारबाही' घोषणापछि भेनेजुएलासँग कूटनीतिक र सैन्य तनाव उत्कर्षमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
2.2k
Shares
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी रोक्ने आफ्नो अभियान अन्तर्गत ‘भूमिबाट’ प्रत्यक्ष कारबाही चाँडै सुरु हुने घोषणा गरेपछि कारकाससँगको कूटनीतिक तनाव अझै बढेको छ। काराकासले अमेरिकाको यो पहललाई शासन परिवर्तनको उद्देश्य भएको भन्दै आरोप लगाउँदै आएको छ।
थ्याङ्क्सगिभिङ होलिडेको अवसरमा अमेरिकी सैनिकहरूसँग गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले ‘साउदर्न स्पियर’ नामक लागुऔषध विरोधी अभियानमा संलग्न अमेरिकी बलको प्रशंसा गर्दै अब ‘भूमिबाट थप कडा निगरानी र रोकथाम चाँडै सुरु हुने’ बताए। यद्यपि उहाँले कुन कारबाहीलाई स्पष्ट रूपमा जनाउनुभएको हो भन्ने खुलाइएको थिएन।
अमेरिकी सेनाले हालै क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा लागेको भन्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा गुड्ने डुङ्गाहरूमा हवाई आक्रमण गरी कम्तीमा ८३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ। यससँगै अमेरिकाले बी–५२ र बी–१बी बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिक उडाउनुका साथै हवाई शक्ति प्रदर्शनसमेत तीव्र पारेको छ। राष्ट्रपति ट्रम्पले समुद्रमार्फत् लागुऔषध तस्करी ‘करिब ८५ प्रतिशत नियन्त्रणमा आइसकेको’ दाबी गरे।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध वासिङ्टनले पछिल्ला दिनमा दबाब बढाउँदै आएको छ। अमेरिकी प्रशासनले भेनेजुएलाको एक कथित लागुऔषध गिरोहलाई विदेशी आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको छ भने अमेरिकी उच्च सैन्य अधिकारीहरूको क्षेत्रीय यात्रा र सैनिक शक्तिको परिचालन पनि बढाइएको छ।
बढ्दो तनावका कारण भेनेजुएलातर्फका अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो असर पर्न थालेको छ। अमेरिकी एफएएले ‘सुरक्षा जोखिम’ भन्दै चेतावनी जारी गरेपछि स्पेन, पोर्चुगल, चिली, ब्राजिल लगायतका देशका प्रमुख विमान कम्पनीहरूले भेनेजुएलाका उडानहरू स्थगित गरेका छन्। यसको जवाफमा भेनेजुएलाको उड्डयन प्राधिकरणले ती एयरलाइन्सहरूलाई ‘संयुक्त राज्य अमेरिकाले प्रवर्द्धन गरेको राज्य आतङ्कवादको कारबाहीमा सहभागी’ भएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको घोषणा गरेको छ। उडान स्थगनका कारण भेनेजुएलामा मात्रै करिब आठ हजारभन्दा बढी यात्रु प्रभावित भएको बताइन्छ।