सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तोष बढ्यो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
784
Shares
काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताएका छन् ।
सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा उनले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताए ।
त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुन सक्ने उनले बताए । उनले एसियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भए पनि क्रमशः सूचना र प्रविधिको तीब्रताका कारण विघटनतर्फ गइरहेको बताए ।
भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्न सके सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सकिने उल्लेख गरे ।
उनले भने, ‘हाम्रो समाजमा जुन प्रकारको असन्तोष छ । त्यो असन्तोष पछाडिको कारण भनेको सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम पनि होला भन्ने म ठान्दछु । समाजमा जुन प्रकाराको अराजकता, एक प्रकारको असहिष्णुता पछिल्लो समय अझ भन्ने हो भने देश, राष्ट्रप्रतिको लगाव नै कमजोर भएर जाने, आफ्ना सांस्कृतिक मूल्य, मान्यताप्रति नै अनास्था र अविश्वास प्रकट गर्ने जुन प्रकारको प्रवृत्ति देखापरेको छ, त्यो प्रवृत्तिलाई सुधार गर्ने एउटा सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्दछ । किनभने एसियाली समाज सामाजिक सम्बन्धमा आधारित समाज हो । पारिवारिक सम्बन्धमा आधारित समाज हो । क्रमशः सूचना प्रविधिको विकाससँगै पारिवारिक, सामाजिक सम्बन्ध, मूल्य विघटनको प्रक्रियामा तिब्रताका साथ अघि बढिरहेका छन् । भविष्यप्रतिको असुरक्षाको भावनाले धेरै हदसम्म काम गरेको छ । भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्ने हो भने अहिले जुन प्रकारको सोसल इनार्किजमको तहमा समाज प्रवेश गरेको छ, त्यसलाई फेरि हाम्रै सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सक्छौँ ।’
महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । श्रमिक पञ्जीकरण उपलिब्धमूलक काम भएको पनि बताए ।