बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरण शुरू [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
701
Shares
काठमाडौँ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण शुरू गरेको छ ।
प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए।
एनका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्नेछ ।
उनले सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउनको लागि दर्ता अभिलेखीकरण शुरू गरिएको बताए ।
सहकारीहरू यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहेको भए पनि प्राधिकरणले डकुमेन्टेसनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण गर्न लागेको बताए ।
उनले भने, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता अभिलेखीकरण हुनुपर्दछ भन्ने प्रावधान राखिएको छ । सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणको लागि सहकारीको डेटा प्राधिकरणमा हुनुपर्छ भन्ने अभिप्रायले हामीले अभिलेखीकरण शुरू गरेका हौँ । यसअघि नै सहकारी कुनै न कुनै निकायमा दर्ता छन् । यसअघि दर्ता गर्ने बित्तिकै सहकारीलाई कारोबारको अनुमति दिइएको छ । ती सहकारी संस्थाहरूलाई प्राधिकरणले आफ्नो मापदण्डको आधारमा अभिलेखीकरण गर्छ ।’
प्राधिकरणले कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा संस्थाको वर्गीकरण गरी सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ । सहकारीले एक हजारदेखि १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर तिर्नुपर्ने हुन्छ ।
उक्त इजाजतपत्र प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण समेत गर्नुपर्ने व्यवस्था दर्ता अभिलेखीकरण मापदण्डले गरेको छ ।