जेन-जी आन्दोलनमा तोडफोड गर्ने ४३ जना पक्राउ, आपराधिक उपद्रव र चोरीमा कारबाही
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
714
Shares
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा चितवनका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ। पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरी कसुर अनुसारको कारबाही गरिएको उनले बताए।
आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी घर र व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो। प्रहरीले आन्दोलनमा घुसपैठ गर्नेहरूलाई कानुनी दायरामा ल्याउने क्रममा पक्राउ गरिएको जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको तथ्याङ्कअनुसार आन्दोलनका क्रममा जिल्लाका ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी आवास तथा व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट भएको उल्लेख छ।