'अनैतिक सम्बन्ध' को आरोपमा बुहारीको हत्या गरी घरभित्र गाडियो, ससुरासहित परिवार फरार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
1.1k
Shares
सर्लाही। रौतहटको वृन्दावन नगरपालिका–९, भुसाहामा २५ वर्षीया महिला तरीमा खातुनको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ।
भुसाहा निवासी खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मङ्गलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगी खाडल खनेर पुरिएको शव निकालेको छ।
मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्यहरू डेढ वर्षका छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीले जानकारी दिए।
घटनाको मूल कारण अनैतिक सम्बन्धको आरोपसँग जोडिएको अनुमान गरिएको छ। मृतकका बुबा ताज मोहम्मदका अनुसार गत कात्तिक १८ गते माइतीतर्फ आयोजित विवाह समारोहका क्रममा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग सम्बन्ध राखिरहेकै अवस्थामा फेला परेकी थिइन्। दुवै जनाले विवाह गर्ने मौखिक सहमति जनाएपनि परिवारले स्वीकार नगरेपछि विवाद चर्किएको र सोमबार राति सोही विषयलाई लिएर हत्या भएको अनुमान गरिएको छ।
मृतकका भाइ शेख आस मोहम्मदले दिदीको हत्या प्रत्यक्ष देखेको र परिवारका सदस्यले हत्या गरिरहेको बेला विरोध जनाउँदा धम्की दिएपछि उनी त्यहाँबाट भाग्न सफल भएको बताएका छन्। भाइले दिदीको हत्या भएको पुष्टि गर्ने तस्वीर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन्।
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। घटनास्थलबाट एकवटा चक्कु समेत बरामद गरिएको छ। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। प्रहरीले फरार रहेका उनका घरका सदस्यहरूको खोजीकार्य तीव्र रुपमा गरिरहेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ।