तीन संगठन एकीकरण गरी बनेको मातृभूमि पार्टीलाई आयोगले दियो आधिकारिकता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
1.1k
Shares
काठमाडौँ। राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरूको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकीकरण गरी बनेको 'जय मातृभूमी पार्टी' ले आधिकारिकता पाएको छ। मङ्गलबार निर्वाचन आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई आधिकारिकताको प्रमाण पत्र हस्तान्तरण गरे।
प्रमाण पत्र ग्रहण गरेपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए। उनले भने, "हामी पूर्व सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आबद्ध भएका छौँ। देशभर ८ लाख भन्दा बढी छौँ। जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौँ।" पूर्व मेजर जर्नेल समेत रहेका र ४० वर्ष नेपाली सेनामा कार्यरत कार्कीले "देशकै अवस्था देखेर र कुशासनले देशै नरहला कि भन्ने अवस्था आइसकेकाले मातृभूमि र नागरिकको सुरक्षाका लागि राजनीतिमा होमिनु परेको" बताए।
पार्टीका महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्तिहरूसँग एलाइन्स गरेर फागुन २१ मा हुने भनिएको निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए। उनले पार्टीमा अवकाश प्राप्त योग्य नेताहरू र विभिन्न विषयका विज्ञहरूका साथै जेन-जी साथीहरू पनि आबद्ध रहेको जानकारी दिए। यो दलको दर्ता नम्बर २२१ रहेको छ भने बच्चा काखमा लिएकी आमा यसको चुनाव चिह्न रहेको छ।