निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्छौँः प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
2.9k
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताएका छन् ।
काठमाडौँमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेन-जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताए ।
उनले भने, ‘जेन-जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ । यस्तो बेला आउन लागेको निर्वाचनका लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौँ। राजनीतिक दललाई अपिल गर्ने छौँ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्नेछौँ । दबाब पनि सिर्जना गर्ने छौँ र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अघि बढ्ने छौँ ।’
यस्तै, उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अघि बढाइएको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपालमा विद्यमान राष्ट्रिय संकटको जुन अवस्था छ त्यसको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने महान उद्देश्यका साथ अघि बढेका छौँ। ढिलो-छिटो सबै सच्चा कम्युनिष्ट, देशभक्त र लोकतन्त्रवादी नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा जोडिने छन् ।’
साथै, उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साँच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीका लागि काम गर्नेतर्फ लागेको पनि बताए ।