रौतहट। बारा प्रहरीले अवैध तस्करहरूको समूहलाई नियन्त्रणमा लिन सात राउण्ड गोली फायर गरेको छ।
बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार, भारतको हनुमाननगरतर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्र्याक्टरमा तस्करीको सामान लोड गरी आउँदै गरेको अन्दाजी २५ जनाको तस्करको टोलीलाई नियन्त्रणमा लिन पचरौता नगरपालिका वडा नं ६, चिकनी टोलस्थित खटिएको प्रहरीको टोलीले गोली चलाउनुपरेको हो।
तस्कर समूहले पनि कटुवा पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरेको थियो। प्रहरीको जवाफी फायरिङपछि तस्कर समूह फरार भएको थियो। प्रहरीले घटनास्थलबाट चार वटा भारतीय नम्बरका मोटरसाइकलहरू बरामद गरेको छ।
साथै, भारतीय नागरिक रञ्जित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र भारतीय तथा नेपाली सिम समेत फेला परेको छ। बारा प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।