हरिचोक–याम्दी राजमार्ग स्तरोन्नतिको अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
658
Shares
कास्की। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्डमा पर्ने हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्ग स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ। पाँचथरबाट सुरु भई बैतडीको झुलाघाटसम्म जोड्ने यस लोकमार्गको कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको काम अहिले लगभग सकिन लागेको छ।
मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीका अनुसार यस खण्डको ९० प्रतिशत काम पूरा भएको छ। उनले यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्ने बताए। इञ्जीनीयर सुवेदीले भने, “हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ।” उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ, जुन जम्माजम्मी १० प्रतिशत रहेको छ।
विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने गरी भएको थियो। तर, निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो। यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए।
सुवेदीले "तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ" भन्दै निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भए पनि कार्यालयबाट पटक पटक ताकेता, स्थानीयवासी र जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको बताए।
सडक निर्माणसँगै लामो समय धुलो र हिलोको सास्ती बेहोरेका स्थानीयवासी फराकिलो र सुन्दर सडक बनेसँगै उत्साहित भएका छन्। पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे। मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन्।