arrow

जाडो बढेसँगै काठमाडौँमा विद्युतीय न्यानो सामग्रीको व्यापारमा वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
ktm-cold.jpg

काठमाडौँ। राजधानी मात्र नभई देशभर जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरूको भीड बढेको छ। बदलिँदो समय र आधुनिकतासँगै न्यानो कपडाका अतिरिक्त हिटर, गिजर र एसी लगायतका विद्युतीय सामग्रीमा पनि मानिसहरूको आकर्षण बढेको छ।

दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौँमा यी विद्युतीय सामग्रीको व्यापार बढेको व्यवसायीहरू बताउँछन्। कात्तिकको अन्त्यदेखि नै बढेको हिटर र गिजरको व्यापार यो समयसम्म आइपुग्दा तीव्र हुन थालेको उनीहरूको भनाइ छ। कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर र तातोपानीका धाराहरू राम्रो बिक्री भइरहेको बताए। उनले कम्पनीहरूले नै मूल्य तोकेर पठाउने गरेकाले अहिले बजारको मूल्य निश्चित जस्तै भएको र ग्राहक ठगिने गुनासो नभएको पनि जानकारी दिए।

काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटीका अनुसार अहिले नेपाली बजारमा दर्जनौँ नाम तथा ब्राण्डका हिटरहरू भित्रिएका छन् र नाम तथा कम्पनीअनुसार मूल्य पनि फरक-फरक छ। उहाँले अघिल्लो वर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशतसम्मको व्यापार बढ्न सक्ने अनुमान व्यक्त गरे। आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडलमार्फत न्यानो रहने चलनमा परिवर्तन आएको उनको भनाइ छ।

अहिले बजारमा ग्यास तथा बिजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका हिटर, खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर र तातो हावा फाल्ने फ्रयान हिटर समेत उपलब्ध छन्। यी हिटरहरू रु ७०० देखि हजारौँ मूल्यसम्ममा उपलब्ध छन्। नेपाली बजारमा भित्रिएका हिटरहरू धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरूबाट समेत आयात भइरहेको छ। अध्यक्ष सिवाकोटीले उपभोक्तालाई न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड तथा फिचरका बारेमा आधिकारीक डिलर/व्यवसायीमार्फत जानकारी लिएर मात्र किन्न सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ