सिमकोटको सिममा बिहानै भालुको आक्रमण, घाइते तीनमध्ये दुई गम्भीर
जनकबहादुर शाही,
प्रकाशित २०८२ मंसिर ७ आइतबार
2.4k
Shares
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–५ मा आइतबार बिहान भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५बर्षीय श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका १ जैरगाउँकी ३८ बर्षीय रजनी रावत रहेका छन्।
हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलका अनुसार बिहान करिब ६:१० बजे सिम क्षेत्रमा घाँस काटिरहेको क्रममा अचानक जंगली भालुले उनीहरूलाई आक्रमण गरेको हो।
आक्रमणबाट लक्ष्य रावत र उनकी श्रीमतीको टाउकोमा चोट लागेको छ भने रजनी रावतको खुट्टा र ढाडतिर चोटपटक परेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल जिल्ला अस्पताल सिमकोट पुर्याइएको र हाल उपचार हुँदै गरेको अस्पतालले जनाएको छ। लक्ष्य र उनको श्रीमतीको अवस्था गम्भीर छ भने रजनी रावत सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार हुम्लामा पछिल्ला केही महिनादेखि भालुको आक्रमणका घटना बढ्दै गएको छ। सदरमुकाम सिमकोटमा भालुले आक्रमण गरेको घटना भने पहिलो हो ।
घाँसदाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका मानिसहरू जंगली जनावरको जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।
डीएसपी पोखरेलले भालुको गतिविधि बढिरहेका कारण स्थानियलाई सतर्क भएर दैनिक कामकाज गर्न आग्रह गरेका छन्। साथै, आवश्यक भए वन कार्यालय र स्थानीय तहसँग समन्वय गरी जनावर नियन्त्रण तथा सुरक्षाका उपाय अपनाइने उनले बताए।