चितवन । निर्वाचनका कारण भारतीय सीमाक्षेत्रमा कडाइ गरिएसँगै अवैध रूपमा छिर्ने गरेको भारतीय अण्डा रोकिएपछि नेपाली किसानले अण्डाको लागत मूल्य पाउन थालेका छन्। यससँगै नेपालमा अण्डाको मूल्य आजबाट लागू हुनेगरी भारी वृद्धि भएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यलाई आधार बनाएर जारी गरेको नयाँ मूल्यसूचीमा प्रतिक्रेट (३० वटाको) रु ५५ ले वृद्धि भएको छ। यसअनुसार, अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट रु पाँच सय २०, ठूलो अण्डा रु पाँच सय पाँच र मिडियम रु चार सय ९० कायम गरिएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो। उनले भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको बताए।
सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु ७.८० मा बिक्री भइरहेको छ। भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत नगरिएको हो। उनले नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६.५७ पर्न आउने र अहिलेको दररेटमा अण्डा बिक्री गर्दा नेपाली किसानले लागत मूल्य पाएको बताए।
सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतनाले माग बढेको बताए। तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट रु ५३० पुगेकोमा क्रमशः रु ४०० मा झरेको थियो र अहिले पुनः क्रमश बढ्दै लागत मूल्य पाउने अवस्थामा पुगेको हो। अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ। यस मूल्यवृद्धिले किसान लाभान्वित हुने देखिएको छ।