युवालाई नयाँ नेताको रुपमा तयार पार्ने प्रचण्डको जिकिर [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
908
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।
‘जेन-जीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीमा धेरैभन्दा धेरै युवालाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढी भन्दा बढी जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवालाई अवसर दिने, पार्टी कमिटीमा धेरैभन्दा धेरै युवालाई ल्याउने संकल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौँ । छिटै त्यो निर्णय पनि गर्ने छौँ । नयाँ पुस्तालाई बढी भन्दा बढी जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीको जिम्मेवारी हो ।’
यस्तै, उनले युवालाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना देख्नुपर्ने भन्दै अब युवालाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्ने बताए ।
उनले भने, ‘एक हजार जेन-जी युवालाई पार्टीमा स्वागत गर्दैगर्दा हामीले देखेको सपना नेपालबाट समान्ति उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपाना बोकेर गरेका काम स्मरण भएको छ । नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नु पर्छ भन्ने महसुस गरेको छु । अब युवालाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना हामीले देख्नुपर्छ । युवालाई नयाँ नेपालको नयाँ नेतृत्वका रुपमा तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ ।’
जेनजी पुस्ताका युवाले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको थियो त्यसले देश र संसारभर रहेका नेपालीलाई झक्झकाउने र एउटा नयाँ चेतना तिर अघि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाइ छ ।