महाधिवशनलाई भाड्ने प्रयास हुँदैछ, सफल हुँदैनः ओली [भिडियो]
महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
873
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिए। एमालेको महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ।
अध्यक्ष ओलीले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने दाबी गरे। उनले महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले फराकिलो मन र फराकिलोपनका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले भने, “एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ। र म देख्दैछु, सुन्दैछु। त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरु भइरहेका छन्। म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु– त्यस प्रकारको सोच नै नबनाउनुस्। नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस्।”
उनले एमालेको महाधिवेशन देशको रक्षा, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई माथि उठाएर गरिने दाबी गरे। उनले थपे, “नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मंसीर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रुपमा स्थापित गर्नेछन्।”
अध्यक्ष ओलीले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर लैजान र सामाजिक सञ्जालमा फिजाइएका भ्रमहरूमा नलाग्नका लागि पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरे। उनले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाइमा पुऱ्याउने दाबी गरे।