arrow

सिमरा घटना अनुसन्धान गर्न दुई वडाध्यक्ष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
simara-agitation-82-8-4.jpg

रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई वडाध्यक्षलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडाध्यक्षलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नं ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी छन् । दुवै जना नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन-जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए । 

घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ ।

घटनामा संलग्न अन्य सबैलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बिहिबार बिहान देखि सिमराका युवाहरु सडकमा उत्रिएका छन्।

सिमरा बजार क्षेत्र अहिले  पुनः तनावग्रस्त बनेको छ । जेन-जी युवाले सिमरा-पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् ।

सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् ।

सिमरामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अवस्था तनावपूर्ण बन्दै गएपछि सो स्थानमा बारा प्रशासनले बिहीबार पनि कर्फ्यू आदेश जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ