arrow

चिठ्ठा र भिडियोकल ब्ल्याकमेलबाट सावधान!

अनलाइन ठगीबाट बच्न प्रहरीको सात बुँदे अनुरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
nepal-police12.jpg

काठमाडौँ। पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीको जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना जारी गरिएको बताउनुभयो। उहाँका अनुसार सामाजिक सञ्जाल (फेसबुक, इमो, ह्वाटस्एप, भाइबर, इन्स्टाग्राम) लगायतका माध्यमबाट ‘तपाईंलाई चिठ्ठा परेको छ, राजस्व तिर्नुपर्छ’ भनी रकम पठाउन लगाई ठगी गर्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन अनुरोध गरिएको छ।

प्रवक्ता भट्टराईले अपरिचित व्यक्ति वा नम्बरबाट भिडियोकल गरी उक्त कल रेकर्ड गरेर अश्लील बनाई ‘ब्ल्याकमेल’ गर्ने र पैसा माग्ने जोखिम बढेकाले त्यसतर्फ पनि सावधान हुन चेतावनी दिएका छन्।

सार्वजनिक सूचनामा अनलाइनबाट सामान खरिद गरी रकम भुक्तानी तिर्दा आधिकारिक बिक्रेता यकीन गरी मात्र तिर्न र नगद दिँदा पनि सुरक्षित हुन अनुरोध गरिएको छ। साथै, आफ्ना साथीभाइहरू तथा आफन्तले सामाजिक सञ्जालबाट आर्थिक सहयोग मागेमा प्रत्यक्ष सम्पर्क गरी यकीन गरेर मात्रै सहयोग गर्न अनुरोध गरिएको छ किनकि उक्त समयमा खाता ‘ह्याक’ हुनसक्ने जोखिम रहन्छ। सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ।

यसबाहेक, प्रहरीले अपरिचित वा नयाँ सामाजिक सञ्जालका कुनै पनि ‘लिङ्क’ नखोल्न, आफ्नो ‘ओटिपी कोड’ अरुलाई नदिन, आफ्नो मोबाइलको ‘स्क्रिन’ कसैलाई नदिन, सामाजिक सञ्जालमा महत्त्वपूर्ण जानकारी नराख्न, र आफ्नो ‘पासवर्ड’लगायत नीजि विवरण साथीभाइ वा नजिकैका आफन्तलाई पनि नदिन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ