भारतलाई मिसाइल बिक्री गर्ने सम्झौतामा अमेरिकाले गर्यो स्वीकृत
९३ मिलियन डलरको मिसाइल : जेभलिन मिसाइल र एक्सक्यालिबर तोपगोला आपूर्ति गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
2.2k
Shares
काठमाडौं। अमेरिकाद्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्वीकृत भएको छ। अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो।
कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो। स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, स्पेयर पाट्र्स तथा लाइफसाइकल सपोर्ट पाउनेछन्। यसबाहेक, भारतलाई २१६ थानसम्म एम ९८२ ए–१ एक्सक्यालिबर उच्च–सटीकता तोपगोला आपूर्ति गरिनेछ, जसको अनुमानित मूल्य ४७.१ मिलियन डलर पर्ने बताइएको छ।
डिएससीएले बिक्री प्रक्रियाअन्तर्गत अमेरिकी कांग्रेसलाई आवश्यक जानकारी पठाइएको जनाएको छ। यसमा प्राविधिक सहयोग, मर्मत तथा अन्य लजिस्टिक र कार्यक्रम समर्थनसमेत समावेश गरिएको छ।
डिएससीएका अनुसार, प्रस्तावित यो बिक्रीले अमेरिकी वैदेशिक नीति तथा राष्ट्रिय सुरक्षा लक्ष्यलाई सुदृढ पार्नेछ, साथै अमेरिका–भारत रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ। यो सहकार्यले इन्डो–प्यासिफिक र दक्षिण एसियाली क्षेत्रमा स्थिरता तथा आर्थिक प्रगतिलाई सहयोग गर्ने उल्लेख गरिएको छ। एजेन्सीले भारतको वर्तमान तथा भविष्यका सुरक्षासम्बन्धी चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने र भारतीय सेनाले यी प्रणालिहरू सहज रूपमा अपनाउन सक्ने बताएको छ। साथै, यसले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै असर नपर्ने डिएससीएको भनाइ छ।
बिक्रीका मुख्य ठेकेदार अमेरिकाको आर्लिङ्टन, भर्जिनियामा अवस्थित एक कम्पनी हुनेछ। यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ।