जेन-जी आन्दोलनका घाइतेलाई राहत, नेप्से पुनर्संरचना समिति गठन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
755
Shares
काठमाडौँ। सरकारले जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा घाइते भएका २ हजार ४२९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
यसैगरी, मन्त्रिपरिषद्ले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। मन्त्री खरेलका अनुसार, बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
साथै, माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि लाग्ने पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम गर्ने निर्णय गरिएको छ। बैठकले शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ।