पुनःस्थापनाबाहेक अर्को बाटो छैन, प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जान्छौं: ओली
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
3.8k
Shares
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफूहरू अदालत जाने बताएका छन्।
मङ्गलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटन संविधान र कानुनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर गरे। उनले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्याए।
अध्यक्ष ओलीले भने, “हामी दुईवटै कदम चाल्दै अघि बढ्नेछौँ। एउटा यसलाई अस्वीकार गर्दै कानूनी उपचार खोज्छौँ। र यो कोर्टमा न्याय, संविधानको नजरमा र यसको संवैधानिक, यी कदमहरूको संवैधानिक परीक्षण हुनुपर्दछ भन्ने हामी ठान्दछौँ। अर्को कुनै परीक्षणको फैसला आउने कुनै बाटो नै छैन। पुनःस्थापनाबाहेक सम्मानित अदालतले गर्ने अर्को फैसला गर्ने अर्को संवैधानिक बाटो नै छैन। मैले पनि धेरैपल्ट संविधान पल्टाएँ, धेरै पल्ट संविधान हेरेँ। यो पूर्ण रुपमा असंवैधानिक छ।”
उनले वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नै नसक्ने बताए। साथै, वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे।