arrow

प्रधानमन्त्री कार्कीले गरिन् नागरिक समाजसँग निर्वाचन, भ्रष्टाचार नियन्त्रण र सुशासनबारे छलफल

घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार गम्भीर भएर लाग्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
sushila-karki-nagarik-samaj.jpg

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार नागरिक समाजका अगुवाहरूसँग छलफल गरेकी छिन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने विषयमा केन्द्रित भएको थियो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस विषयमा जानकारी दिँदै नागरिक अगुवाहरूले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकार गम्भीर भएर लाग्न सुझाव दिएको बताए।

मन्त्री खरेलका अनुसार, मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका निम्ति नागरिक समाजले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। जवाफमा प्रधानमन्त्री कार्कीले राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीका लागि समेत सरकार दृढ रहेको बताएकी थिइन्। उनले निर्वाचन आयोगको कार्यक्षमता बढाउन आयोगको नेतृत्वसँग निरन्तर संवाद गरिरहेको पनि जानकारी दिइन्।

नागरिक समाजका प्रतिनिधि खगेन्द्र संग्रौलाले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि उचित वातावरण बनाउन नागरिक अगुवाहरूले दिएको सुझावलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रूपमा लिएको बताए। छलफलमा नागरिक समाजका अगुवा प्रतिनिधिहरू इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई लगायत उपस्थित थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ