ओलीको टिप्पणी: सुशासन भनेको हामीलाई समात्नु भन्ने सरकारको बुझाइ छ [भिडियो]
सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा नाटक हेर्दैछौँ
ओलीका कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
854
Shares
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन्।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताए। उनले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताए।
अध्यक्ष ओलीले वर्तमान सरकारले आफूहरूलाई दबाबमा देखाउनका लागि जेन–जीहरूलाई प्रयोग गरेर 'आर्टिफिसियल ड्रामा' तयार गरिरहेको टिप्पणी गरे। उनले जेन–जीहरूलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, र उनीहरूको हातमा मागपत्र थमाइदिने जस्ता काममा सरकार लागेको बताए।
जेन–जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको उनको भनाइ छ। उनले वर्तमान सरकारले बिना पैसाको 'कला बिहीन नाटक' देखाइरहेको टिप्पणी गर्दै आफूहरू असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको बताए।