मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दलको प्रदर्शन, उपसभामुखले गरिन् चौरमा प्रदेशसभा सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
928
Shares
काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति र सभामुखको कार्यशैलीलाई लिएर सात राजनीतिक दलले आन्दोलन जारी राखेका छन्। मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरीत कार्य गरेको विरोधमा यी दलहरूले कार्यकर्ता उतारेर शनिवार जनकपुरमा प्रदर्शन गरेका हुन्। यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवनअगाडि धर्ना दिँदै आएका थिए।
सात दलका नेताहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतीय सरकार बन्ने अवस्था हुँदाहुँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गलत नियतले उपधारा ३ प्रयोग गरेर नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन्। प्रदेश प्रमुख भण्डारीले कार्तिक २३ गते यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी २४ गते एक होटलमा शपथग्रहण गराएकी थिइन्।
यसैबीच, सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय आचरण विपरीत कार्य गरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। सभामुख मण्डलविरुद्धको अविश्वासको प्रस्ताव लिएर जाने क्रममा सांसदहरूमाथि हातपात समेत भएको थियो। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएको भन्दै पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए। सरकार गठन र सभामुखको कदमको विरोधमा ७ दलीय मोर्चाले कार्यकर्ता उतारेर शनिवार जनकपुरमा प्रदर्शन गरेका हुन्।
यसैबीच, मधेस प्रदेशकी उपसभामुख वविताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गरेकी छन्। सभामुखमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि यसको प्रक्रिया अगाडि बढाउनुपर्ने उपसभामुख राउतले बताइन्। उनले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी समेत दिइन्।