arrow

रतेउली अर्थात् जिउती

logo
शीतल गिरी,
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
ghital-giri-82-7-29.jpg

नेपाल सानो देश भए पनि यहाँ थुप्रै विविधतापूर्ण संस्कृति पाइन्छ । विभिन्न किसिमको स्वादमा यहाँको संस्कृतिमा झुम्न सकिन्छ । नेपालको लोकसंस्कृतिमा धान नाच, रोदीघर, असारे गीत, डेउडा, बाह्रमासा, बिहरनी, समाचकेवा, जट–जटीन, घाटुनाचको आफ्नै रस, सुगन्ध, रङ र स्वाद छ । 

आफ्नो आफ्नो सांस्कृतिक सम्पदामा रम्दा यस्तो लाग्दछ, वास्तवमा नेपालको संस्कृतिमा हिमालको चीसोपन, पहाडको परिश्रम र तराईको हरियाली पाइन्छ । यहाँका संस्कृतिहरू लोकपरम्पराको रूपमा चल्दै आएको छ । 
    
यहाँको लोकसंस्कृतिमा मिठास छ । यहाँ एउटा यस्तो नाट्य परम्परा विद्यमान छ, जसको हत्र्ता–कर्ता र दर्शक सबै महिला नै हुन्छन् । महिलाले महिलाकै लागि मात्र मञ्चन गर्ने गरेको नाट्य नेपालकै मगर, गुरूङ, नेवार, राई, लिम्बू, मैथिल आदि समाजमा भने पाइँदैन तर पनि यसमा ती जाति समाजमा महिलाहरू पनि यदाकदा सहभागी हुने गरेको भने पाइन्छ । 

महिलाहरूका लागि आरक्षित यो नाट्य परम्परालाई कहीँ रतेउली त कतै जिउती पनि भनिन्छ । घरमा विवाह छ भने दुलही ल्याउन जन्ती प्रस्थान गरेको रात (विवाह हुने रात) विवाहको शुभ अवसरमा यस लोकनाट्य मञ्चन गरिन्छ, विवाहघर त्यो पनि वरको — त्यसमा महिलामात्र हुनु स्वभाविकै हो ।
    
यो लोकनाट्य परम्परा नेपालमा खस, भोजपुरी र बज्जिका समाजमा कायम छ । घरमा लोग्नेमानिस नभएको बेलामा महिलाहरू मात्र धक खोल्ने हुँदा हल्ला हुन्छ नै । गुरूङको रोदीघर होस्, अथवा मैथिली, बज्जिका र भोजपुरीको जट–जटिन जुनसुकै लोकनाट्य परम्परामा पनि महिलाहरू मन खोलेर रमाइलो गर्छन् ।

    नेपालका पश्चिमी जिल्लाहरूमा यसलाई जिउती पनि भनिन्छ । यस नाट्य परम्परामा महिलाले पैन्ट, सुरूवाल लगाएर मकैको खोया र ज्यामीरको जननेन्द्रीय जडेर पुरुष बनी रतीक्रियाको स्वाँङ गर्छन् । पेट बोकेको महिलाको नक्कल पार्नु र प्रशवकालको अभिनय भने बडो सजीव लाग्दछ । 

पुरुषहरूका लागि पूर्णतः निषेध यो नाट्य परम्पराको अभिनेता–अभिनेत्री महिला नै हुन्छन् । यसको आयोजना छोराको विवाहमा जन्ती प्रस्थान गरेपछि सोको राति विशेषरूपमा गरिन्छ र मूलपात्र बेहुलाकी आमालाई बनाइन्छ ।
    
छोराको विवाहमा बुहारी आउने हुन्छ, वियोगको दुःख हुँदैन, यसकारण खुब उल्लासपूर्वक रमाइलो गर्छन् । यसमा कुनै बाद्ययन्त्र प्रयोग गरिदैन र घरेलु सामानको उपयोग गरेको पाइन्छ ।
    रतेउली मूलतः हास्य प्रधान लोकसंस्कृति हो । रतेउली खेल्ने महिलाहरू पुरुषले सहजै देख्न नसक्ने ठाउँमा गोलो घेरा बनाएर बस्छन् । गाईजात्रा बिर्सने किसिमको हास्य र ब्यङ्ग्य दुबै यसमा पाइन्छ ।
    
यसको प्रारम्भिक अभिनयमा एउटी महिला दौरा–सुरूवाल, पैन्ट–सर्ट अथवा ट्याकसूट  र टोपी लगाएर लोग्ने बन्छे त अर्की स्वास्नी । प्रायः अभिनयमा बेबकुफ लोग्नेको अभिनय उतार्ने गरिन्छ ।
    
अभिनयको क्रममा महिलालाई पतिको दासी होइन, मालिक्नी बनेको देखाइन्छ । बीचबीचमा आइमाईहरूले लय मिलाएर गीत पनि गाउँछन् । खासगरेर यसरी रतेउलीमा गाइने गीतलाई नै पश्चिमी नेपालमा जिउती भनिन्छ ।
    
प्रायः गरेर यस नाटकमा महिलाहरूले आफ्नो तरिकाबाट पुरुषहरूप्रति आफ्नो शाश्वत अधिकार पोख्नका लागि कतिपय रोचक नाटकहरू तत्कालै सिर्जना गरेर अभिनय देखाउँछन् । विवाहमा कन्याको सहमति नलिने चलन नेपालको प्रायः सबै समाजमा अझसम्म विद्यमान छ । कन्याको लागि अभिभावकले जस्तोसुकै केटा खोजेर विवाह गरिदिने परम्परा युगौंदेखि चल्दै आएको छ ।
    
कन्यालाई पशुझैं दान दिने परम्पराको खुलेर विरोध अहिलेसम्म हुन सकेको छैन तर महिलाको मनमा यस सम्बन्धमा कस्तो अबधारणा छ, कति पीडा छ, यसको अभिब्यक्ति तिनीहरू कुनै न कुनै माध्यमबाट गर्ने गर्छन् । तिनीहरूको लागि उपयुक्त अवसर भनेको तीज र र तेउली नै हो । रतेउलीको क्रममा सबभन्दा प्रचलित नाटक हो बच्चा जन्माउनु ।
    
एउटी महिला आफ्नो पेटमा कपडा बाँधेर गर्भवती भएकी अभिनय गर्छे । नाचकै क्रममा पेट धेरै दुःखेको अभिनय गर्छे । महिलाहरूले अभिनयको क्रममा पुरुषप्रधान समाजको निरङ्कुशता र स्वार्थिपनमाथि प्रहार गर्दछिन् । पेट बोकेको स्वाँङ गरेकी महिला छट्पटाउन थाल्दछे । अर्की महिला जान्ने झाँक्रीको रूपमा आउँछे र बच्चा जन्माउन मद्दत गर्दछे । झाँक्री बन्ने महिला मूलतः विदूषक (जोकर) हो र तिनको प्रत्येक अभिनय र शब्दमा हास्य र व्यङ्ग्य हुन्छ ।
    
हाँसोको बीचमा अन्ततः बच्चा जन्माइन्छ । सामान्यतः मसला पिस्ने लोहोरोलाई बच्चाको रूपमा प्रयोगमा ल्याइन्छ । बच्चा रोएको अभिनय पनि महिलाहरू नै गर्छन् । बच्चालाई दूध ख्वाएको अभिनय, बच्चा बिरामी हुँदा आमाको मनोदशाको अभिनय, यसप्रकार आमा र बच्चाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुरो हास्यको माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ । रातभरि नै यस किसिमको नाटक चलिरहन्छ ।
    
घरको मझेरीमा बेहुली लिन गएको बेहुला र जन्तीको प्रतीकका रूपमा कागजमा चित्र बनाएर भित्तामा टाँसिएको हुन्छ । वास्तवमा त्यही चित्रलाई नै जिउती भनिन्छ । 

अष्टमातृकाको पूजाका अवसरमा पनि जिउती चित्र विवाहमा आवश्यक मानिन्छ । चित्रमुनि रातभर दियो बालेर उक्त दियोलाई निभ्न नदिनको लागि पनि  रतेउली खेल्दै जाग्राम बस्ने प्रचलन चलेको हो ।
    
“रतेउलीको बोको छ, खाउँला भन्ने धोको छ”, भन्ने बोलको गीत गाएर रमाइलो गदैछन् भने केराको थम्बालाई लठ्ठीको खुट्टा लगाएर हिनहिनाउँदै, घोडा चढेको बेहुली लिएर आउने बेलामा दोबाटोमा राख्ने प्रचलन पनि छ । रतेउलीको यस्तो संस्कृति विशेषगरी गाउँघरमा (पहिले भन्दा कम भए पनि) अद्यापि जीवितै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ