सुरक्षा सुदृढ नबनाई निर्वाचनमा जान सकिँदैन- पूर्वप्रधानन्यायाधीश श्रेष्ठ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
952
Shares
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा नागरिक समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आत्मबलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभूति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, "राज्यको पहिलो चरित्र के हो भने पुलिस स्टेट हो। सुरक्षा फष्ट। चाहे सीमाको रक्षा होस्, चाहे आन्तरिक धनजनको कुरा गरौँ, सुरक्षा फष्ट।"
उनले थप भने, "अहिले हाम्रो राज्यको धरातलनै उखेलिएको जस्तो छ। राज्यले आफ्नो आत्मविश्वास गुमाएको कि गुमाएन? राज्यप्रति जनताको आत्मविश्वास छ कि छैन? त्यो छैन भने मानिलिनुस् हाम्रो राज्य कमजोर भएको छ। निर्वाचनभन्दा पहिला हाम्रो सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नुपर्छ।"
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी पुस्ताको परिवर्तनको आकांक्षालाई रूपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने जिकिर समेत गरे।
उनले निर्वाचनमार्फत मुलुकलाई अघि बढाउन संविधान संशोधन पहिलो सर्त रहेको समेत दोहोर्याए।