बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर : मन्त्री घिसिङ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
777
Shares
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत बक्यौता असुलीमा राजनीतिक तहबाट हुने हस्तक्षेपले अवरोध सिर्जना भए पनि अब यो ठोस परिणामतर्फ अग्रसर भएको जानकारी गराएका हुन्।
मन्त्री घिसिङले लेखेका छन्, "राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ। नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको थियो।"
उनले थप लेखेका छन्, "अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए। तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारीका कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ।"
मन्त्री घिसिङले हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधका साथ बक्यौता रकमको किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीहरूलाई धन्यवाद समेत दिएका छन्।