जेन-जी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
745
Shares
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए अनुसार, बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई पक्राउ गरिएको छ।
यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेका सबैलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।