ट्रम्पको आलोचना गर्दै गभर्नर न्यूसमले भने- पेरिस जलवायु सम्झौतामा फर्किनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
2k
Shares
काठमाडौँ। अमेरिकामा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवारमध्येका एक, क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले आफ्नो पार्टी विजयी भएमा पेरिस जलवायु सम्झौतामा अमेरिका 'बिना कुनै हिचकिचाहट' पुनः सामेल हुनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको कोप ३० जलवायु शिखर सम्मेलन आयोजना भइरहेको ब्राजिलको अमेजन शहर बेलेममा एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै न्यूसमले सम्मेलनमा भाग लिनु 'नैतिक प्रतिबद्धता र आर्थिक अनिवार्यता' दुवै भएको बताए।
न्यूसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलन बहिस्कार गर्नु 'घृणित' भएको टिप्पणी गरेका छन्। उनले ट्रम्पले एक पटक होइन, दुई पटक सम्झौताबाट पछि हटेको र यसले अमेरिकाको सम्मानमा कमी आउन सक्ने आशङ्का व्यक्त गरे।
न्यूसमले ट्रम्पको यो कदमलाई 'मूर्खता दोहोर्याउनु' भएको भनेका छन्। यसअघि राष्ट्रपति ट्रम्पले कोप-३० सम्मेलनमा कुनै पनि उच्च अमेरिकी अधिकारी उपस्थित नहुने बताएका थिए । साथै, उनले दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा पनि कुनै अमेरिकी अधिकारी सहभागी नहुने घोषणा गरेका थिए।